पृथ्वी संरक्षणका लागि बसन्त चौधरीको प्रयास : इपेपर लञ्च

काठमाडौं । कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले servedplanet.com वातावरणकेन्द्रित इपेपर सुरु गरेका छन् ।

सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका बारेका लेख तथा विश्लेषणहरुलाई प्राथमिकताका साथ प्रकाशन गर्नेछ । यहाँ समेटिने लेख तथा विश्लेषणहरूमा विश्वव्यापी दृष्टिकोण पाइनेछ।

E-paper servedplanet.com को उदेश्य मानव जाति र माता पृथ्वी बीचको सुमधुर सम्बन्धलाई प्रवर्दधन गर्ने रहेको चौधरीले बताएका छन् । चौधरीले इपेपर पृथ्वीको बिग्रँदै गएको अवस्थाबारे जनचेतना जगाउन प्रतिबद्ध रहेको जनाएका छन् ।

पृथ्वी दिवसका दिन लञ्च गरिएको, विस्तृत रूपमा चित्रित servedplanet.com ले प्रत्येक पन्ध्र दिनमा यसको सामग्री अपडेट गर्नेछ। यद्यपि, भविष्यमा थप सुविधा र सामग्रीको साथ यो डिजिटल प्लेटफर्मलाई चाँडो अपडेट गर्ने योजना समेत रहेको छ ।

यो इपेपरले पाठकहरूको प्रतिक्रियालाई उच्च प्राथमिकता दिनुका साथै आम पाठक र वातावरणविज्ञहरुबाट आएका टिप्पणी र सुझावहरुलाई पर्याप्त सम्पादकीय स्थान प्रदान गर्ने छ ।