प्रणय दिवसमा ‘कवितासँग वसन्त’

काठमाडौं– प्रणय दिवसको अवसर पारेर, कवि तथा गीतकार वसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

‘अलिक लजाईदेउ’ शीर्षकको कविताबाट वाचन थालनी गरेका चौधरीले कार्यक्रम अवधिभर प्रेमिल कविता, गजल तथा मुक्तक सुनाएका थिए ।

‘यौवन छचल्किन्छ मन मेरो वहकिन्छ,
तिमीलाई वाहुपासमा लिन जीवन ससल्किन्छ ।
तिम्रो धारीलो मुस्कान मुटुमा पहिरो जान्छ
थाहा छैन तिम्रो माया कति कति गहिरो जान्छ ।
आजको दिन त तिमीले नाई भन्नु हुँदैन
आजको एकदिन हो मन कहिल्यै रुँदैन ।’

काठमाडौंको मण्डला थिएटरमा सोमबार अपरान्ह ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसको अवसर पारेर आयोजित कवि तथा गीतकार चौधरीको एकल कविता वाचन कार्यक्रममा उनले एक दर्जन कविता, गजल र मुक्तक सुनाएका थिए ।

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको उदेश्य ‘लभ इज इन दि एयर’ राखिएको थियो ।

कार्यक्रमको सुरुवातमा कवि तथा गीतकार राजेन्द्र सलभले चौधरीको परिचयसहित कविता सुन्न उपस्थितहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा चौधरीको दुई वटा पुस्तक ‘मेरा गीत’(गीतसंग्रह) र ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) लोकार्पण गरियो । उपस्थित दर्शकले सामुहिक रुपमा यी कृती सार्वजनिक गरेका हुन् ।

केही समयअघि ८५ वटा कविताहरुको संग्रह ‘तिमीविनाको म’ सार्वजनिक गरेका चौधरीका झण्डै एक दर्जन कृती प्रकाशित छन् ।